झापा, असोज २९ । व्यवसायिक रुपमा मत्स्यपालन गर्दै आएका झापाका मत्स्यपालक किसानहरु संगठित भएका छन् ।

शनिवार बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका संचालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा रमेश थापा कमल , सचिव सुशिल राजवंशी बाह्रदशी , सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा मोहन पायम कचनकवल रहेका छन् । त्यस्तै सदस्यहरुमा हरि मैनाली बिर्तामोड , लक्ष्मी शिवाकोटी बिर्तामोड , राजेश देवान बिर्तामोड , भीम योङहाङ हल्दिवारी , आइतराज लिम्बू बाह्रदशी , सुमन न्यौपाने बिर्तामोड , दीपक सुवेदी बाह्रदशी , मुरलीधर सिंह राजवंशी गौरीगञ्ज , राजु सापकोटा अर्जुनधारा, गंगाप्रसाद पौडेल हल्दिवारी, सुरेश तामाङ भद्रपुर र जयसिंह राजवंशी कचनकवल रहेका छन् । तीन वर्षे कार्यकालका लागि गठित १७ सदस्यीय समितिमा पछि चारजना थप गरिने जनाइएको छ ।

नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको अधिवेशनको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका थिए ।संग्रौलाले माईपूर्वका आठवटा पालिकाहरुले मरेका र फर्मालिन प्रयोग गरिएका भारतीय माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाउँदै त्यस काममा आउनसक्ने बाधा व्यवधान स्थानीय सरकारले व्यहोर्ने बताए । उनले भारतीय माछामाथि प्रतिबन्ध लगाएर माछामा आत्मनिर्भर बनाउन स्थानीय किसानहरुले उत्पादन बढाउनुुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले मत्स्यपालक किसानहरुको लागि संगठनको जरुरी रहेकोमा संगठित भइसकेपछि अब माछाको बजारीकरण, औषधी, दाना र प्राविधिकको व्यवस्थापन गरिनुपर्ने बताए । उनले दानाको लागि बिर्तामोडमा वायर हाउसको आवश्यकता रहेको बताए । हेभन पार्कका संचालकसमेत रहेका शिवाकोटीले आफूले रु २५० मा थोक र ३०० मा खुद्रा मूल्यमा माछा बिक्री गरिरहेको बताउँदै माछाको मूल्यमा एकरुपता हुनुपर्ने बताए । कार्यक्रममा सहभागी मत्स्यपालक किसानहरुले पालिकाहरुले अस्वस्थकर भारतीय माछा प्रतिबन्ध लगाएकोमा खुशी व्यक्त गरेका थिए । लक्ष्मीप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद सेडाईले गरेका थिए ।

अधिवेशनमा झापाका सबै नगरपालिका र गाउँपालिकाबाट ५० भन्दा बढी मत्स्यपालन किसानहरुको सहभागिता रहेको थियो । झापामा ३ सयभन्दा बढी मत्स्यपालन किसानहरु रहेका छन् । जिल्लामा करिव ७ सय विगाह क्षेत्रफलमा माछापालन भइरहेको प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष शिवाकोटीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्