बिर्तामोड, असोज २९ । व्यवस्थित र पारदर्शी रुपले संचालन भइरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ नाफा कमाएको छ ।

गत लक्ष्य ३ करोड २५ लाख ८५ रुपैयाँ लिएको संस्थाले १७९.८ प्रतिशत उपलब्धी हासिल गरी ७९.८ प्रतिशत लक्ष्य बृद्धि गरेको हो । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको १२ औं बार्षिक साधारणसभाका अवसरमा संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक वर्ष ०७८–०७९ मा कूल आम्दानीतर्फ यस वर्ष गत वर्षको लक्ष्यअनुरुप ५३.८२ प्रतिशतले बृद्धि भई ४५ करोड ९९ लाख ४६ हजार ६१८ पुगेको बताउँदै आर्थिक वर्ष ०७८–०७९ मा कूल खर्चतर्फ यस वर्षको लक्ष्यअनुरुप ५०.६५ प्रतिशतले खर्च बढी भई ४० करोड १५ लाख ९ हजार ६५८ पुगेको जानकारी दिए ।

झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवाकेन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले शनिवार बिर्तामोडमा प्रतिनिधिमुलक साधारणसभाको आयोजना गरी माइन्यूट प्रमाणिकरण गरेको हो । साधारणसभामा १४० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको साधारणसभालाई बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । संस्थाका अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ असार मसान्तसम्ममा शेयर सदस्य ५१ हजार ४३६ जना, शेयरपुँजी ३१ करोड ८३ लाख ९८ हजार ८००, बचत रहेको रकम १ अर्व १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा, कर्जा लगानी तथा असुली २ अर्व १६ करोड २८ लाख ६८ हजार ३५०, जगेडा तथा अन्य कोषहरु १६ करोड ४२ लाख ५६२ रुपैयाँ २ पैसा रहेको छ ।

संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर प्रमुख प्रसाई, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग अधिकृत प्रेम बस्नेत (बिजय) ले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्