झापा, असोज ३० । नेकपा एमालेका नेता भीम रावलले झापा क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीलाई मतदान गर्न पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।


राजधानीको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै एमाले नेता रावलले विपरित सिद्धान्त भएको प्रतिक्रियावादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सदासर्वदा जिताउन एमालेले त्याग गर्न नसक्ने बताए ।यसअघिको २०७४ सालको आमनिर्वाचनमा आफू उपाध्यक्ष भएका बेला अध्यक्ष केपी ओलीले पार्टीमा कुनै छलफल नै नगरी आफ्नो जित सुनिश्चित गर्नका लागि राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको उनले बताए ।

‘ २०७४ को निर्वाचनमा झापा ३ मा राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएको रहेछ ’उनले भने,‘ म अछाम गएको थिएँ । पछि थाहा पाएँ । आफ्नो जित सुनिश्चित गर्नका लागि केपी ओलीले उम्मेदवार बनाएका रहेछन् । म आश्चर्यचकित भएँ ।’ किन राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउनुपर्ने प्रश्न गर्दै असन्तुष्ट नेता रावलले पाँच वर्षसम्मको एमालेको संगठन , कार्यकर्ताको मेहनत खेर फालेको टिप्पणी गरे । अब फेरि पनि सिद्धान्त नमिल्ने प्रतिक्रियावादी राप्रपाका लागि एमालेले आफ्नो झन्डा लुकाउन नहुने भन्दै रावलले डम्बर गिरीले लिङ्देनविरुद्ध दिएको बागी उम्मेदवारी उचित भएको प्रतिक्रिया दिए ।

सुखानी सहादत प्राप्त झापामा स्वाधिनता र स्वतन्त्रताका लागि शहीदहरुले दिएको बलिदानीलाई स्मरण गर्दै रावलले दशकौंदेखिको कार्यकर्ताहरुको संगठन निर्माणको मेहनतलाई खेर नफाली विवेक ढंगले आगामी निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्