बिर्तामोड,असोज ३१ । बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ ।

सोमवार पत्रकार सम्मेलन गरी नगरपालिकाले सो पुस्तिका सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९–०८० को लागि नगरसभा अधिवेशनबाट पारित नीति , बजेट तथा कार्यक्रम त्यस पुस्तिकामा समेटिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेसहित १० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सो पुस्तिका सामूहिक रुपमा सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले सर्वसम्मत रुपमा चालु आर्थिक वर्षको लागि नीति, बजेट तथा कार्यक्रम तयार गरेको बताइन् । उनले सो बजेट कार्यान्वयन हुने प्रतिवद्धता पनि जनाइन् । कार्यक्रममा उपप्रमुख संग्रौला , प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पनि बोलेका थिए ।

आगामी आर्थिक वर्ष ०७९÷०८० को लागि कुल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरिएको छ । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० प्राप्त हुनेछ भने संघीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव गरिएको छ ।

चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्गको लागि बजेट बिनियोजन गरिएको छ । पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत संभार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्