झापा, कात्तिक १ । झापामा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएको छ।

चुनाव आउन ३३ दिन मात्र बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालयमा आचारसंहिता उल्लंघनको शिकायत परेको हो । आचारसंहिता उल्लंघन गर्नेहरुलाई जिल्ला निर्वाचन कार्यालयले सचेत गराएको छ । जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा हिड्न निर्वाचन आयोगले प्रतिबन्ध लगाएकोमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह चुनाव प्रचारप्रसार समितिको संयोजक रहेका थिए । शाहलाई त्यस समिति छोड्न लगाईएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । त्यस्तै गाउँपालिका अध्यक्ष शाह चुनावी घरदैलो र कोणसभामा सहभागी भएको भन्ने जानकारी आएपछि सचेत गराइएको उनले जानकारी दिए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति शाह गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

त्यस्तै उम्मेदवार मनोनयनका दिन दलका र स्वतन्त्र उम्मेदवारहरुले ठूलो संख्यामा भीडभाड गरेको , झाँकीमा बालबालिका प्रयोग गरेको र बाजागाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको पाइएकाले त्यसतर्फ सबै उम्मेदवारहरुलाई सचेत गराइएको आचारसंहिता अनुगमन अधिकृत मधुकर पोखरेलले बताए । निर्वाचनको १७ दिनअगाडि मात्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । तर, झापामा चुनाव चिह्न पाएकै दिनदेखि उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा लागेका छन् ।

निर्वाचन आयोगले प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ । सो जिम्मेवारी पाएका पोखरेलले आचारसंहिता उल्लंघनका साधारण छिटपुट घटनाहरु भएको बताउँदै त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्