बिर्तामोड , कात्तिक १ । भारतबाट आयातित माछा बिक्री गर्न नपाउने बिर्तामोड नगरपालिकाको निर्णय फिर्ता लिन माछा व्यवसायीहरुले माग गरेका छन् ।

बिर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्री गर्न कात्तिक १ गतेदेखि रोक लगाएको छ । नेपाल सरकारको कानुनी प्रावधानविपरित बिर्तामोड नगरपालिकाले भारतबाट ल्याइएका माछा विक्री गर्न नपाउने भनी गरेको निर्णयले आफूहरु मारमा परेको जनाउँदै उनीहरुले सरकारको निर्णयबमोजिम एल.सी. खोलेर निश्चित रकम जम्मा गरेपछि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागमातहत रहेको क्वारेन्टाइन कार्यालयमार्फत प्रमाणित गरी भन्सार प्रकृया पूरा गरेर आयात गरिएका माछा ‘कोल्ड चैन’(आइस)मा ब्यवस्थित तरिकाले राखिसकेपछि नबिग्रिएसम्म बेचबिखन गर्न पाउने कानुनी प्रावधान रहेको जानकारी गराएका छन् । मंगलवार नेपाल माछा ब्यापार श्रमिक संघ झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी कानुनी प्रावधान र नेपाल सरकारको मौजुदा कानुनविपरित निर्णय गर्ने अधिकार सरकार मातहतकै निकाय बिर्तामोड नगरपालिकालाई नभएको ठहर गरेको छ ।

पशु क्वारेन्टाइनको अनुमति पत्र

कार्यक्रममा बोल्दै नेपाल माछा ब्यापार श्रमिक संघका अध्यक्ष सोनालाल शाहले माछा व्यापारमा लगाएको रोकका कारण यहाँका ब्यवसायीहरु सडकमा पुग्ने अवस्था सिर्जना भएको बताउँदै एल.सी. मार्फत जम्मा गरिएको करोडौं रकम डुब्ने जोखिम बढेकोतर्फ बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । ‘नगरपालिकाको यस निर्णयले ब्यवसाय गर्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको साथै माछा ब्यवसायीहरुको पेटमा लात मारेको हाम्रो ठहर छ’ उनले भने,‘तसर्थ तत्काल यो निर्णय फिर्ता लिएर ब्यवसाय गर्ने वातावरण सिर्जना गर्न बिर्तामोड नगरपालिकासँग हार्दिक अपिल गर्दछौं ।’ उनले ब्यवसायीहरुको मागलाई बेवास्ता गर्दै माछापालन वा ब्यापारमा संलग्न कसैको उक्साहटमा नलागी आम किसान र ब्यवसायीको हितमा कार्य गर्न नगरपालिकालाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा नगरपालिकाले यो निर्णय नसच्याए ब्यवसायीहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।

क्वारेन्टाइन नगरी चोरी निकासीबाट आउने भारतीय माछा बिक्री गर्न नपाउने कुरामा आफूहरु सहमत भएको बताउँदै नेपाल माछा ब्यापार श्रमिक संघका उपाध्यक्ष धिमरज महमदले त्यस्ता अस्वस्थकर माछा आफूहरुले समेत नष्ट गर्दै आएको जनाए । उनले पशु क्वारेन्टाइनले स्वस्थ माछा भनेर प्रमाणित गरिसकेपछि आफूहरुले बिक्री गर्न पाउनुपर्ने दावी गरे । ‘यो हाम्रो कानूनी अधिकारको कुरा हो ’उनले भने,‘ भारतबाट आयात गरेर माछा बेचेको सात पुस्ता भइसक्यो, किसानहरुको उक्साहटमा नगरपालिकाले रोक्न मिल्दैन ।’

गत असोज ७ गते बसेको बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले कात्तिक १ गतेदेखि भारतबाट आयातित मरेका र फर्मालिन प्रयोग भएका माछा बेच्न रोक लगाउने निर्णय गरेको थियो । अहिले बिर्तामोडको बजारमा भारतीय माछा छैन । बिर्तामोडको कृषि थोक बजारमा प्रत्येक दिन १५ क्वीन्टल माछा बिक्री हुने गरेको जनाइएको छ । त्यसमध्ये ६० प्रतिशत माछा भारतबाट आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

तर, सरकारी तथ्यांक अनुसार प्रदेश नं १ माछामा आत्मनिर्भर बनेको छ । नेपाल मत्स्यपालन किसान संघ झापाका अध्यक्ष होमप्रसाद सिटौलाले झापा जिल्ला माछामा आत्मनिर्भर बनिसकेको बताउँदै भारतीय माछाको आबश्यकता नभएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्