झापा, कात्तिक २ । चुनावको मुखमा नेपाली काँग्रेसप्रति असन्तुष्टि जनाउँदै भारतेन्दुकुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् ।

भद्रपुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका मल्लिक नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् महासमिति सदस्य हुन् । भद्रपुरमा बुधवार आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मल्लिकलाई अबिर लगाइदिएर पार्टीमा प्रवेश गराएका हुन् । मल्लिकसहित उनकी श्रीमती पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

काँग्रेसले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ टिकट नदिएपछि मल्लिक असन्तुष्ट बनेका थिए ।
केही समयअघि मल्लिकले भद्रपुर विमानस्थल पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए । मल्लिक एमालेमा जान लागेको भन्दै काँग्रेसभित्र चर्चा चलेको थियो । तर, अन्ततः मल्लिक एमालेमा नगई राप्रपामा प्रवेश गरे ।

मल्लिक सुरुमा नेपाल सद्भावमा पार्टीमा आबद्ध थिए ।सद्भावनामा हुँदा उनी भद्रपुरको मेयरमा निर्वाचित भएका थिए । पछि उनी सद्भावना छाडेर विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा प्रवेश गरे । गच्छदारको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र काँग्रेसबीच एकता भएपछि मल्लिक काँग्रेसमा आए । उनलाई पार्टीले केन्द्रीय सदस्य समेत बनायो । एकपछि अर्को पार्टीमा जाने प्रवृति भएका मल्लिक पछिल्लो पटक राप्रपामा गएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्