बिर्तामोड,कात्तिक ४ । बिर्तामोड ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लि.(बिएमसी)ले १७औं वार्षिक साधारणसभा आज गर्दैछ ।

निर्धारित वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा हिजो पत्रकार सम्मेलनमार्फत् बिएमसीले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । झापा जिल्लाभर कार्यक्षेत्र स्वीकृति पाएको बिएमसी बाह्य ऋण शून्य भएको सहकारी संस्था हो । आर्थिक वर्ष २०७८÷०७९ मा ४३ करोड २० लाखको वित्तीय कारोबार गरेको बिएमसीमा ३ हजार ३१८ शेयर सदस्य रहेका छन् ।

संस्थाले ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ शेयर पुँजी संकलन भएको प्रतिवेदनमा उल्लेख छ । २०७९ को असार मसान्तमा संस्थामा ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ निक्षेप मौज्दात रहेको र ३० करोड ६७ लाख ७३ हजार ९७४ रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरिएको जनाइएको छ । संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा उपाध्यक्ष होम सिटौला, सञ्चालक सदस्य अर्जुनकुमार पाठक र सल्लाहकार संयोजक उमानाथ ओलीको उपस्थितिमा प्रबन्धक रुद्र सिटौलाले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमार्फत् प्रतिवेदन सार्वजनिक पनि गरेका थिए । संस्थाले समीक्षा वर्षसम्ममा ७० लाख २३ हजार ४९५ रुपैयाँ सदस्य स्वास्थ्य उपचार कोषमा जम्मा भएको जनाएको छ । उक्त कोषको ब्याजबाट संस्थाले गत आर्थिक वर्षमा मात्र सदस्यको स्वास्थ्य उपचारमा ८ लाख १९ हजार ५०० रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सुत्केरी पोषण खर्चमा ५५ हजार ५५ रुपैयाँ, सदस्य काजकिरिया खर्चमा ४० हजार १० रुपैयाँ, सदस्य परिवारको दशगात्र कर्ममा ३ लाख १२५ रुपैयाँ र सामाजिक उत्तरदायित्व अन्तरगत चन्दा सहयोगमा ४६ हजार ५०० रुपैयाँ खर्चेको जनाइएको छ । साधारणसभाका अवसरमा बिएमसीले वर्ष उत्कृष्ट बचतकर्ताका रुपमा गणेशकुमार उप्रेती र असल ऋणीका रुपमा कुमारी कार्कीलाई जनही नगद ७ हजार ५०५ रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्ने जनाइएको छ । यस्तै वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शान्ता सेडाईं सिटौलालाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्