बिर्तामोड, कात्तिक ४ । बिर्तामोड–३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले ६ जनालाई नगदसहित सम्मान गरेको छ ।

१७ औं बार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । संस्थाले स्व. पर्शुराम सिटौला स्मृति समाजसेवा सम्मानबाट पूर्व राष्ट्रियसभा सदस्य डिल्लीप्रसाद सिटौलालाई सम्मानित गरेको छ । संस्थाका उपाध्यक्ष पर्शुराम सिटौलाको संझनामा स्थापित सो सम्मान पहिलो पटक सिटौलालाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले सिटौलालाई ११ हजार १११ नगदसहित सम्मानपत्र प्रदान गरिन् ।

त्यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा गणेशकुमार उप्रेती , उत्कृष्ट ऋणी कुमारी बस्नेत कार्कीलाई जनही ७ हजार ५०५ नगदसहित सम्मानपत्र प्रदान गरियो भने उत्कृष्ट कर्मचारीको रुपमा शान्तादेवी सेडाई सिटौलाले ५ हजार ५ नगदसहित सम्मानपत्र प्राप्त गरिन् । त्यस्तै शेयर सदस्यका छोराछोरीमध्येबाट यस वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा आचार्य र गायत्रा बाँसकोटालाई जनही ५ हजार ५ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको साधारणसभामा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा अध्यक्ष शिवाकोटीले वार्षिक प्रतिवेदन र लेखा समिति सदस्य अर्जुन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा आर्थिक बर्ष २०७८÷०७९ सम्ममा ३ हजार ३ सय १८ जना शेयर सदस्य रहेका छन् भने शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैंयाँ पुर्याउन सफल भएको अध्यक्ष शिवाकोटीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै लगानीमा रहेको कर्जा ३० करोड ६७ लाख ७३ हजार ९७४, संस्थामा रहेको बचत ३३ करोड ५६ लाख ७४ हजार ६८६ रुपैयाँ र आव २०७८÷०७९ को कुल कारोवार ४३ करोड २० लाख ४०८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७८÷०७९ मा ८३ लाख १४ हजार ९०२ रुपैयाँ खुद नाफा गर्न सफल भएको प्रतिवेदनमा छ ।

स्वागत संस्थाका उपाध्यक्ष होम सिटौलाले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई , सम्मानित तर्फबाट सिटौला, पूर्व जनप्रतिनिधि प्रेमप्रकाश सिटौला, समाजसेवी खगेन्द्र प्रसाई ,कन्चनजंघा स्कुलका प्राचार्य गुरुभक्त न्यौपाने, महेन्द्ररत्न माबि ब्यवस्थापन समितिका अध्यक्ष टंक सेडाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक रुद्र सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्