झापा, कात्तिक ५ । निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर आचारसंहिता जारी गरेपनि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले खुलेआम मत मागिरहेका छन् ।

नेकपा एमालेबाट निर्वाचित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले सामाजिक संजालमार्फत आफ्ना दलीय उम्मेदवारका लागि मत मागेका हुन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले फेसबुकमार्फत आफ्ना दलका उम्मेदवारको लागि मत मागिरहेको पाइएको छ ।

त्यस विषयमा ती जनप्रतिनिधिहरुलाई सचेत गराइने जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसारमा लागेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ ।

कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका प्रवक्ता शर्माले एक विज्ञप्ति जारी गर्दै त्यसरी उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइए कारबाही गरिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्