बिर्तामोड, कात्तिक ५ । साहित्य चौतारी झापाले यसवर्ष पनि दक्षिणारहित सामूहिक सडक देउसी खेल्ने भएको छ ।

चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता र संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकले अघिल्ला वर्षमा जस्तै सडक देउसीलाई निरन्तरता दिने निर्णय गरेको हो ।

संरक्षक श्रेष्ठले कात्तिक ९ गते गोवर्धन पूजाका दिन बिहान ११ बजेदेखि बिर्तामोडको दुर्गा मन्दिर परिसरमा सडक देउसी प्रतियोगिता आयोजना गरिने बताए । देउसीपछि चौतारीको सभाहल होटल हिकोला हेरिटेजमा प्रतियोगितात्मक मासिक सांगीतिक काव्यसभा आयोजना गरिने भएको छ ।

साहित्य चौतारीकी पूर्व उपाध्यक्ष, यसअघि सम्मानित व्यक्तित्व साहित्यकार लीला अनमोलको प्रमुख आतिथ्यमा चौतारीले देउसी भैलो तथा मासिक सांगीतिक काव्यसभा आयोजना गर्न लागेको हो । यसपटक साहित्य चौतारीका सहसचिव देवीचरण भण्डारीको देउसी विशेष प्रस्तुति रहनेछ ।

बैठकले तिहार विशेष कार्यक्रमको संयोजक सुनिता तामाङलाई तोकेको छ । तामाङ मासिक काव्यसभा संयोजक समेत छिन् । बैठकले प्रतियोगितात्मक कार्यक्रमको निर्णायकमा साहित्यतर्फ दिलिप घिमिरे, संगीततर्फ गायक बिजय दंगाल र कलातर्फ छमछमी बिजेता अनुजा अग्रवाललाई राख्ने निर्णय गरेको छ ।

बैठकले होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठलाई प्रदेश सरकारले पर्यटनको क्षेत्रमा गरेको विशिष्ट योगदानस्वरुप सम्मान गरेकोप्रति आभार व्यक्त गर्दै बधाई तथा शुभकामना दिएको छ ।नेपाल गीतकार संघबाट सम्मानित भएका साहित्य चौतारीका संस्थापक अध्यक्ष गीतकार शिवशंकर थापा र टीका भट्टराईलाई पनि चौतारीले बधाई तथा शुभकामना दिएको छ । बैठकले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलिसहित शोक प्रस्ताव पारित गरेको छ । जोशीको २०७९ असोज २९ गते निधन भएको थियो ।

झापा तथा बाहिर जिल्लामा पनि साहित्य चौतारी

साहित्य चौतारीले झापाका विद्यालय तथा झापा बाहिरका विद्यालयमा पनि मासिक सांगीतिक काव्यसभा आयोजना गर्ने निर्णय गरेको छ । संरक्षक देवीभक्त श्रेष्ठले बालप्रतिभाको विकासका लागि चौतारीले झापा र त्यसभन्दा बाहिरका जिल्लामा पनि साहित्यिक अभियान चलाउन लागिएको जानकारी दिए ।

विद्यालय तहमा मासिक सांगीतिक काव्यसभा आयोजना गर्न साहित्यकार भानुभक्त कुभिण्डेलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिको व्यवस्थापनमा कार्यक्रम आयोजना गर्ने चौतारीको तयारी छ ।

समितिको सहसंयोजकमा साहित्यकार लीला अनमोल छिन् । सदस्यमा अनिरुद्र ओली, दुर्गाप्रसाद सिग्देल र सुनिता तामाङ छन् । यसअघि साहित्य चौतारीको आयोजनामा भोजपुरका केही विद्यालयमा साहित्यिक अभियान सञ्चालन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्