बिर्तामोड, कात्तिक ७ । अनारमनी सोसियल युथ क्लबद्वारा सोमवार आयोजित फस्ट मेन एण्ड फस्ट वुमेन बिटिएम रन म्याराथनको उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका छन् ।

बिर्तामोड ३ को धौला पुलदेखि बिर्ताबजार हुँदै मुक्तिचोक पुगेर पुनः बिर्तामोड नगरपालिकाको कार्यालयसम्म करिव ६ किलोमिटर दुरीमा म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ३७ र महिलातर्फ १० जना सहभागी भएका थिए । पुरुषतर्फ मेघराज राई प्रथम ,ओशन राई द्वितीय र यङदेव राई तृतीय भएका छन् ।

त्यस्तै महिलातर्फ रेखा लिम्बू प्रथम , विष्णु चम्लागाई द्वितीय र रुपा राई तृतीय भएका छन् । प्रथम , द्वितीय र तृतीय हुनेहरुले क्रमशः ७ हजार , ५ हजार र ३ हजार नगद पुरस्कार , मेडल र प्रमाणपत्र पाएका छन् । अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा युथ इन्जिनियर्स मेचीका बिशाल जवेगु , रोट्रयाक्ट क्लब अफ बिर्तामोडका बसन्त ढकाललगायतको उपस्थिति रहेको कार्यक्रमका व्यवस्थापक प्रभास थापा मगरले बताए ।
प्रतियोगितामा बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालय , धौला इन्जिनियरिङ, युथ इन्जिनियर्स मेची , एसएल मोडर्न फर्निचर ,ओसिस, ह्याङखोप्सा मोडर्न फर्निचर लगायतको सहयोग रहेको कार्यक्रम संयोजक भरत राईले जानकारी दिए ।



