पाँचथर, कात्तिक ८ । हिलिहाङ फाउन्डेशनले लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङको २९६ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।

पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार परिसरमा हाङ हिलिहाङ योङहाङको जन्मजयन्ती आयोजना गरिएको थियो । हिलिहाङ फाउन्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर अधिकारी रहेका थिए ।त्यस्तै याङवरक गाउँपालिकाका अध्यक्ष सुवास योङया, उपाध्यक्ष बाबा मेन्याङवो , हिलिहाङ गाउँपालिकाका पूर्व अध्यक्ष भुवानीप्रसाद लिङ्देन , गेट निर्माण तथा आर्थिक व्यवस्थापन समितिका अध्यक्ष धनराज योङहाङको बिशेष आतिथ्यता रहेको थियो । हिलिहाङ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष धनपति गिरी ,याङवरक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रोहित योङयाको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य सूर्य योङयाले गरेका थिए भने संचालन हिलिहाङ फाउन्डेशनका सचिव प्रकाश योङयाले गरेका थिए ।

सोही अवसरमा हिलिहाङ दरबार गेट उद्घाटन गरिएको छ । गेट निर्माण तथा आर्थिक व्यवस्थापन समितिका अध्यक्ष धनराज योङहाङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष सुवास योङया रहेका थिए । कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर अधिकारी, याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङवो, हिलिहाङ गाउँपालिकाका पूर्व अध्यक्ष भुवानीप्रसाद लिङ्देनको बिशेष आतिथ्यता रहेको थियो । हिलिहाङ फाउन्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव सचिव प्रकाश योङयाले गरेका थिए । हिलिहाङ र याङवरक गाउँपालिकाको संगमस्थलमा निर्माण गरिएको सो गेट प्रदेश नं १ कै आकर्षक रहेको छ।जनस्तरको आर्थिक सहयोगमा निर्माण गरिएको सो गेटका लागि ७० लाख रुपैयाँ खर्च भएको हिलिहाङ फाउन्डेशनका सचिव प्रकाश योङयाले जानकारी दिए ।


विक्रम सम्वत् १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेका थिए। नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाई गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । लडाई र संघर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक तथा अनौपचारिक धेरै सन्धि र सम्झौता भएका थिए। सम्झौतामध्ये वि.सं. १८१४, १८३१ र १८४२ मा भएका सन्धि सबैभन्दा बढी चर्चामा थिए। सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरूबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो। अर्थात् शाहहरू र योङहाङहरू राजखानदानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरिएको इतिहासका जानकार मचिन्द्र योङहाङ बताउँछन् । यस क्षेत्रमा हिलिहाङले ३१ वर्षको उमेरमा वि.स. १८१४ मा शासन हात लिएर वि.स. १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा उल्लेख छ । हिलिहाङ गाउँपालिकामा किरात वंशका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय पनि निर्माण हुँदैछ । सोही स्थानमा हिलिहाङ फाउन्डेशनले दुईवटा सालिक निर्माण गरेको छ ।

१ प्रतिक्रिया

  1. धेरै राम्रो।हामी लिम्बुवानि को लुकेको इतिहास झल्काउनु पर्छ अब।👏👏👏

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्