झापा , कात्तिक ८ । निर्वाचनको मुखैमा झापा क्षेत्र नं ३ का उम्मेदवारहरुले चारआली –केचना सडकको जस लिन हानाथाप गर्न थालेका छन् ।

चारआली –केचना सडक

चारआली –केचना सडक आफूले बनाएको भनेर प्रचार गर्दा ३ नं क्षेत्रका जनताको मत पाउन सकिन्छ भनेर उनीहरु सबैले त्यसलाई चुनावी एजेन्डा बनाएका हुन् । नेपाली कांग्रेसले चारआली –केचना सडक आफ्नो पहलमा बनेको दावी गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाको पहलमा सो बाटो बनेको कांग्रेस कार्यकर्ताहरुले प्रचार गरिरहेका छन् । एकजना कार्यकर्ता कुमार सिटौलाले तत्कालीन भौतिक योजना मन्त्री रमेश लेखकले शिलान्यास गर्दै गरेको तस्वीर राखेर सामाजिक संजालमा राखेर लेखेका छन् – यति गरेर कृष्णप्रसाद सिटौलाको पहलमा शिलान्यास गरेको चारआली –केचना सडक अहिले आएर राजेन्द्र लिङ्देनले मैले बनाएको हो भन्दै जनतालाई भ्रमित पारिराखेका छन् । के यो अपराध हैन? त्यसैले कोहि नझुकिऔं । चिल्ला चिप्ला भाषण गर्नेलाई हैन, काम गर्ने नेता कृष्णप्रसाद सिटौलालाई रुख चिन्हमा आफ्नो अमूल्य मतदान गरि बिजय गराऔं ।’

कांग्रेसले प्रचार गरेको तस्वीर

तत्कालीन भौतिक योजना मन्त्री रमेश लेखकले २०७३ असोज १७ गते सो सडकको शिलान्यास गरेका थिए । उनले पहिलो पटक शिलान्यास गरेका थिएनन् । यसअघि पनि धेरै पटक सो बाटो शिलान्यास भएको थियो । चारआली र पृथ्वीनगरको सोमबारेसम्मको २० किलोमिटर तथा राजगढदेखि भद्रपुरसम्मको २० किलोमिटर गरी जम्मा ४० किलोमिटरको सडक बनाउने भन्दै यसअघि पटक–पटक शिलान्यास भएको थियो । चारआली–सोमबारे सडक तत्कालिन प्रधानमन्त्री किर्तिनिधि विष्टसहितले चार पटक र राजगढ–भद्रपुर सडक नौ पटक शिलान्यास भइसकेको थियो । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मुलघर पर्ने क्षेत्रकै सडक लामो समयदेखि बन्ने हल्लामै सीमित रहेको थियो। त्यतिबेला मन्त्री लेखकले अबको ३० महिनाभित्र निर्माणकार्य पूरा गर्ने बाचा गरेका थिए । तर, सडक निर्माणको काम २०७६ सालमा मात्र शुरु भएको थियो ।

आर्थिक वर्ष २०७४मा ठेक्का लागेको चारआली– केचना रिङरोडको बजेट संघीय वा प्रदेश सरकार कसले छुट्याउने भन्ने विषयमा विवाद भएपछि काम ठप्प बनेको थियो । अन्ततः ठेक्का लागिसकेको सो रिङरोड संघीय सरकारले बनाउन बजेट बिनियोजन गरेपछि मात्र काम शुरु भएको थियो । नेपाली कांग्रेसको सरकार हुँदा २०७४ मा रकमको सुनिश्चित नगरी तत्कालीन सरकारले धेरै बहुबर्षीय योजनाका कामहरू शुरु गरेको र सोही योजनामै परेका कारण यो सडक यतिका दिनसम्म ठप्प रहेपछि लामो मेहनतपछि सडक बनेको राप्रपा–एमालेका उम्मेदवार राजेन्द्र लिङ्देनले बताएका छन् । यसअघि वर्तमान सरकारले यो सडक निरन्तरता दिने भनेर टुंग्याएकोमा आफूलगायत विकास तथा प्रविधि समितिले बहुबर्षीय सबै योजनाहरू प्रदेश वा स्थानीय सरकारबाटै सञ्चालनका लागि सरकारलाई निर्देशन दिएपछि सडकको कामले तीव्रता पाएको निवर्तमान सांसद लिङ्देनले दावी गरेका छन् ।

उता झापा क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले आफूहरुको पहलमा सो बाटो बनेको दावी गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् –‘२०७० सालमा बसन्तकुमार बाँनिया झापा क्षेत्र न.३ बाट निर्वाचनमा पराजित भएपछि म तत्कालीन एमालेको क्षेत्रीय अध्यक्ष भएँ ।त्यसपछि एमाले पार्टीले झापा क्षेत्र नं.३ को पार्टी कामलाई सहयोग पुग्नेगरी तत्कालीन एमालेबाट समानुपातिकका जितु गौतम र अम्बिका खवास राजवंशीलाई यस क्षेत्रको जिम्मा दिएपछि हाम्रो पहलमा बसन्तकुमार बाँनियाको संयोजकत्वमा झापा क्षेत्र नं.३ को विकास निर्माणको कामको केन्द्रसंग पहल गर्ने उद्धेश्यले झापा क्षेत्र नं.३ विकास समिति गठन गरियो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अर्थमन्त्री डा.युवराज खतिवडासहित ११ वटा मन्त्रालयका उपल्लो तहका कर्मचारीसहित ३.नम्बर क्षेत्रको अवलोकन भएपछि कचनकवलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोेजना र चारआली केचना सडकखण्ड र हुलाकी सडकमा बजेट विनियोजन भएपछि कार्यान्वयन हुने क्रममा केपी ओलीको सरकार ढलेपछि शिलान्यास अरुबाट भएको हो ।कांग्रेस र राप्रपाले प्रचार गर्न बेकार छ । बरु यसको जस प्रदेश सांसद बसन्तकुमार बाँनिया र अहिले झापा क्षेत्र न.३ को प्रतिनिधि सभाका सदस्यको उम्मेदवार सूर्यमुखी फुलमा मतदान गरे डम्बर गिरीलाई दिँदा खेर जादैन । राजेन्द्र लिङ्देन र कृष्णप्रसाद सिटौलालाई विकासे नेताको रुपमा झापा क्षेत्र न.३ का मतदाताले कसरी हेर्लान् ? अहिलेसम्म नगरेको,नदेखिएको,नभएको कुरा अब गर्छन् भन्नु बेकार हो ।’

निर्वाचनका बेला यस्ता चुनावी फन्डा र भ्रम उम्मेदवारहरुले ल्याउने गरेका छन् । कसैको भ्रममा नपरी झापा क्षेत्र नं ३ को विकासमा कसको हात छ भनेर स्थानीय जनताले नै छिनोफानो गर्नुपर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्