झापा , कात्तिक १२ । गएराति इलाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक प्रहरीसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

राति ८ बजेको समयमा सूर्योदय नगरपालिका ९ मा फिक्कल– पशुपतिनगर सडकखण्डमा बाटो पिच गर्ने मिक्स्चर साइडमा रोकिराखेकोमा उक्त मिक्स्चरमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको प्रदेश न. १ –०१–०१३ प ८०१३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । उक्त मिक्स्चरमा पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका ३ स्थायी ठेगाना भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत ३५ वर्षिय प्रहरी सहायक हवल्दार दिनेश राईको मृत्यु भएको हो ।

दुर्घटनामा प्रहरी सहायक हवल्दार दिनेश राई र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३९ वर्षिय युवराज राई घाइते भएका थिए । दुवै घाइतेलाई प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले फिक्कल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि दुवै घाइतेलाई बिएण्डसी अस्पताल विर्तामोड पठाइएकोमा प्रहरी सहायक हवल्दार दिनेश राईको उपचारको क्रममा राति ९.४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी जिेतेन्द्र बस्नेतले बताए ।

त्यस्तै हिजो साँझ ६.३० बजे इलाम नगरपालिका १० सिलपुरमा नामसालिङबाट गोदकतर्फ बिरामी बोकेर आउँदै गरेको प्रदेश १–०३–००१ च ००२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनामा परी इलाम माईजोगमाई ४ बस्ने बिरामी ५१ वर्षिय पदम देवानको मृत्यु भएको हो । उनको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा राति ९.५ बजे मृत्यु भएको डिएसपी बस्नेतले बताए ।

दुर्घटनामा सोही ठाउँ बस्ने २९ वर्षिय बिश्वास देवान , २५ वर्षिय रबिन देवान र ४६ वर्षिय अमर देवान घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , गाडी घटनास्थलमा नै रहेको र चालक माईजोगमाई बस्ने ३१ वर्षिय ज्ञानेन्द्र दाहाल प्रहरीको नियन्त्रणमा रहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्