बिर्तामोड,कात्तिक १२ । झापाको कनकाईस्थित बिरिङ खोलाको किनारमा छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि छठ समाज सेवा समितिले घाट निर्माणलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

बिरिङ खोलाको पूर्वी किनारामा घाट तयार गरिएको समितिका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार करिब चार सय घाट निर्माण गरिएको छ । गत बर्ष ३२० घाट निर्माण गरिएको थियो ।

स्टलको टोकन वितरण सकिएको समितिका सचिव तथा घाट ब्यवस्थापन समिति संयोजक शंकर भगतले जानकारी दिए । पूजास्थलमा एम्बुलेन्ससहित हेल्प डेस्क राखिएको उनले बताए । आइतबार साँझ ७ बजेदेखि भारतीय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम गरिने समितिका महासचिव मनोजकुमार साह (रौनियार)ले जानकारी दिए ।
पूजा सम्पन्न गर्न करिव ८–१० लाख रुपैयाँ खर्च हुने अध्यक्ष गुप्ताले जानकारी दिए । स्वेच्छिक सहयोगबाट खर्च ब्यवस्थापन गरिने निवर्तमान अध्यक्ष घनश्याम चौधरीले बताए । पूजा सम्पन्न गर्न बरुण चौधरीको संयोजकत्वमा अर्थ समिति, मंच ब्यवस्थापनमा अशोक चौधरी, प्रचारप्रसारमा शत्रुघन रौनियार, संगिता रौनियारलगायत रहेको समिति निर्माण गरिएको बताइएको छ ।

आइतबार दिउँसो ३ बजे औपचारिक कार्यक्रम गरिने प्रचारप्रसार समितिका शत्रुघन रौनियारले जानकारी दिए ।
कार्तिक शुक्ल चतुर्थीको दिनबाट शुरु हुने छठ चार दिनसम्म मनाइन्छ । तेस्रो दिन नदी किनारामा सजाइएको घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पूजा समापन हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्