झापा, कात्तिक १३ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छठ पूजा सेवा समिति बिर्तामोडका अध्यक्ष राजकुमार गुप्ताले बताए । कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । छठ पर्वका लागि झापाको मेची , बिरिङ, अधुवा , निन्दा , रतुवा , कन्काई , देउनियालगायतका नदी किनारमा सजावट गरिएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्