झापा , कात्तिक १४ । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ ।

आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा समेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न झापाको मेची , बिरिङ, अधुवा , निन्दा , रतुवा , कन्काई, देउनियालगायत मधेस प्रदेशका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा तलाउमा ब्रतालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
यसैबीच एक नं प्रदेश र मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । संघ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्