झापा , कात्तिक १४ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको हत्या भएको छ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार झापाको दमक नगरपालिका–१० आमबारी बस्ने धनबहादुर श्रेष्ठका १४ वर्षीय छोरा दियुस श्रेष्ठको हत्या भएको हो।
छुरा प्रहार गरेर दियुसको हत्या गरिएको प्रहरीले जनाएको छ। बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको कोइरालाले बताए। छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुसमाथि आइतबार राति १०ः२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो।

गोदावरीमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा सोमबार बिहान ४ः५० बजेतिर मृत्यु भएको एसपी कोइरालाले बताए।

उनका अनुसार दियुसमाथि छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ। उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। एसपी कोइरालाले घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्