झापा,कात्तिक १४। दलित समुदाय अन्तर्गतका बिर्तामोडका मुसहरहरुले अलग्गै छठ पूजा गरेका छन् ।

बिर्तामोड ३ र १० मा रहेका २० घर मुसहरहरुले अधुवा खोलामा अलग्गै छठ पूजा गरेका हुन् । सैनिकमोडस्थित अधुवा खोलामा अरु जातजातिसंग सामूहिक छठ पूजा गर्दै आएका उनीहरुले गत वर्षदेखि अलग्गै गर्न थालेका हुन् । त्यहाँ गर्दा आफूहरुलाई अप्ठ्यारो भएपछि घर नजिकै अलग्गै छठ पूजा गर्न थालेको बिर्तामोड– १० विराटपोखरकी बिमला ऋषिदेवले बताइन् । सैनिकमोडमा गर्दा घाट किन्नुपर्ने लगायत अन्य समस्या परेपछि आफूहरुले आफ्नै ठाउँमा छठ पूजा गर्न थालेको उनले सुनाइन् ।

घरनजिकै अधुवा खोलामा घाट निर्माण गरी उनीहरुले छठ पूजा गर्ने गरेका छन् । आफूहरुको अलग्गै छठ पूजा भएपछि कसैको नमिठो बोली सुन्न नपर्ने बिर्तामोड– ३ की अन्जु ऋषिदेव चौधरीले बताइन् । छठलार्ई समानताको पर्वको रुपमा मानिन्छ । सामूहिक रुपमा छठ पूजा गर्ने परम्परा रहेपनि जातीय विभेद हुने गरेको पाइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्