झापा, कात्तिक १४ । बिगत केही दिनदेखि माओवादी केन्द्रका ४० जनाले राजीनामा दिएको भन्दै संचारमाध्यममा आएको समाचारप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्र शिबसताक्षीले जनाएको छ ।

शिवसताक्षी नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । बिज्ञप्तिमा भनिएको छ “हामीहरुको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेकोले कसैलाई भ्रममा नपर्न र नपार्न अनुरोध गर्दै पार्टीभित्र असहमतिका बिषय भए कमिटीमा छलफल गरी निकास निकाल्न पनि हामी सबैमा अबगत गराउँदै बैठकमा भएको हस्ताक्षरको दुरुपयोग गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको र हामी माओवादी केन्द्रमै रहेको जानकारी गराउन चाहन्छौ ।”


यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नगर सचिव भुवन सेन्दाङ , वाइसिएल नेपालका अध्यक्ष इन्द्र नेउपाने ,उपाध्यक्ष सन्जिब राई ,नगर सचिबालय सदस्य धनकुमार ढकाल , धनेन राई छन् । त्यस्तै फिरोज ढकाल, खगेन्द्र राई , डम्बर लिम्बू, भिमबहादुर थापा ,सन्तोष काफ्ले (उमाकान्त) आशिष घिमिरेलगायतले पनि आफूहरु माओवादीमै रहेको स्पष्ट पारेका छन् ।

यता नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामाको बिषय हल्ला मात्रै भएको भन्दै कार्यकर्ताहरु चुनावी कार्यक्रममा ब्यस्त भएको बेला गोयबल्स शैलीमा प्रचार गरिनु र माइन्युटको दुरुपयोग गर्नु गलत भएको बताए । पार्टीमा सैद्धान्तिक बिषयमा कसैको असहमति भए छलफलबाट निकास निकाल्न नगर समिति तयार रहेको पनि उनले बताए । उनले पार्टीभित्र गल्ती गर्ने कैसलाई पनि छुट नभएको स्पष्ट पारे । पार्टी परित्याग कसैले पनि नगरेको पनि उनले बताए ।सम्बन्धित ब्यक्ती वा पार्टी कमिटीलाई नसोधी समाचार लेखेकोमा आपत्ति जनाउँदै उनले आग्रह पूर्वाग्रह भएर समाचार नलेख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्