झापा , कात्तिक १५ । अगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारी साधन हस्तान्तरण गरेका हुन् । यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालले प्राप्त गरेको सवारी साधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री शर्माले यी सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरूमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारी साधन उपलब्ध गराउँदै आएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा तथा नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारी साधन सहयोग स्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्