बिर्तामोड, कात्तिक १५ । आदिवासी जनजाति समुदायप्रति सकारात्मक धारणा नराखेको आरोप लागेका एमाले अध्यक्ष केपी ओलीले छक्याउँदै आएकाले यसपटकको निर्वाचनमा झापाका आदिवासी जनजातिहरु सचेत देखिएका छन् ।

लखनपुरमा रहेको आदिवासी रंगशालाको नामकरणलाई लिएर ओलीले छक्याएपछि जिल्लाका आदिवासी जनजातिहरु झस्किएका हुन् । विगतमा आदिवासी रंगशाला भनेर नामकरणपछि शिलान्यास समेत भइसकेको अबस्थामा त्यसलाई उल्ट्याउँदै ओलीले मदन भण्डारी रंगशालाको बखेडा झिकेपछि आफूहरु उनीप्रति विश्वस्त बन्न नसकेको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

एमाले अध्यक्ष ओली स्वयंले आदिवासी रंगशाला हुन नदिएको अबस्थामा एमालेबाट प्रदेशसभा निर्वाचनका उम्मेदवार हिक्मतकुमार कार्कीले यस निर्वाचनमा त्यसलाई आदिवासी रंगशालाकै रुपमा विकास गर्ने चुनावी प्रतिवद्धता जनाएका छन् । एमालेका उम्मेदवार कार्कीको त्यस प्रतिवद्धतालाई आदिवासीहरुले पत्याउन नसकिरहेको चौधरीले बताए । ‘यसपटकको निर्वाचनमा कति धेरै कन्भिन्स गर्न सक्नुहुन्छ उहाँको व्यवहारले देखाउँछ ’उनले भने,‘ हामी उहाँबाट आशा गर्न सक्छौं, भरोसा गर्न सक्दैनौं । ’

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुसंग आदिवासी अधिकारका विषयमा गर्न लागिएको प्रतिवद्धता खोज्ने कार्यक्रमका विषयमा जानकारी दिन मंगलवार महासंघले पत्रकार सम्मेलन गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाले झापाका पाँचै वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग अन्तरक्रिया गर्ने भएको छ । महासंघले कात्तिक १७ गतेदेखि आदिवासी जनजातिका हक अधिकारका विषयलाई समेटेर उनीहरुसँग अन्तरक्रिया गर्ने भएको हो । महासंघले पाँचै वटा क्षेत्रका प्रतिनिधिसभा, प्रदेश सभाका प्रत्यक्ष एवम् समानुपातिकतर्फ दलीय र स्वतन्त्र उम्मेदवारहरुसँग अन्तरक्रिया गर्न लागिएको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष केवलराम राईले जानकारी दिए । संविधानले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरे पनि कार्यान्वयनमा नआएको, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को १६९ मा उल्लेख भएका आदिवासी जनजातिका कुराहरुको बेवास्ता गरिएको लगायतका आदिवासी जनजातिसँग जोडिएका स्थानीय र राष्ट्रिय मुद्दाहरुलाई समेटेर जितेर गएपछि सोको कार्यान्वयनका लागि प्रतिबद्धता लिने मुख्य उद्देश्य रहेको जनाइएको छ ।

महासंघका अध्यक्ष चौधरीले झापा ६५ प्रतिशत जनसंख्या आदिवासी रहे पनि आदिवासीको मुद्दा ओझेलमा परेको दाबी गरे । ‘आदिवासीको धर्म, भाषा, लिपी, संस्कार संस्कृति लोप हुँदै गएको छ’, उनले भने, ‘त्यसको संरक्षण राज्यबाट हुन सकेको छैन, आदिवासीको माग सम्बोधन हुन जरुरी छ ।’ महासंघले कुनै पनि दलको उम्मेदवारलाई काखापाखा नगर्ने तर आदिवासी जनजातिको मुद्दामा प्रतिबद्धता लिने उद्देश्यले अन्तरक्रिया गर्न लागिएको जनाइएको छ । झापा क्षेत्र नं. १ मा १७ गते काँकरभिट्टामा, २ मा १९ गते बिर्तामोडमा, ३ मा २० गते भद्रपुरमा, ४ मा २३ गते सुरुङ्गामा र झापा क्षेत्र नं ५ मा २२ गते पाडाजुँगी (कमल ५) मा हुने आयोजकले जनाएको छ । महासंघ झापा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्