भद्रपुर,कात्तिक १६ । झापा ३ (१) मा प्रदेशसभा सदस्य पदलाई जनअनुमोदन गर्दै निरन्तर विरासत कायम राख्ने दाउमा बसन्तकुमार बानिया देखिन्छन् भने नयाँ अनुहारको रूपमा जीतको झण्डा गाडेर दक्षिणी झापाको मुहार फेर्न भूमिप्रसाद राजवंशी तल्लीन छन् ।

दक्षिणी झापाको कचनकवलमा रहेर त्यहाँको उन्नतिका लागि शिक्षण पेशाको माध्यमबाट दशकौं सेवा गर्दै राजवंशी पूर्णकालीन राजनीतिमा होमिएका हुन् । नेपाली काँग्रेसमा निरन्तर सक्रिय रहेका राजवंशी तथा विद्यार्थी राजनीतिदेखि नेकपा एमालेको राजनीतिमा आइपुगेका बानिया आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं ३ (१) बाट प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएका हुन् ।

२०७४ को निर्वाचनमा पनि दुवैजना प्रमुख प्रतिष्पर्धीका रूपमा देखिएकोमा त्यसबेला बानियाले तीन दलीय गठबन्धनको सहयोगमा जीत हासिल गर्दा एकल काँग्रेसबाट भिडेका राजवंशीले उपविजेताका रूपमा चित्त बुझाउनु परेको थियो । बानिया र राजवंशी दोस्रो पटक आमनेसामने हुँदा यसपटक भने भिडन्त विगतको तुलनामा निकै फरक तथा रोचक हुने देखिएको छ ।
२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट साझा उम्मेदवार बनेर निर्वाचन लडेका थिए भने राजवंशी एक्लै काँग्रेसको उम्मेदवार थिए । त्यस निर्वाचनमा बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए ।

यस पटकको निर्वाचनमा एमालेका उम्मेदवार बानियालाई राप्रपाले मात्र साथ दिएको छ । एमाले र माओवादी मिलेर नेकपा बनेको वर्ष दिन नबित्दै चार चोइटा भएको अवस्था छ भने माओवादी र एकीकृत समाजवादीले कांग्रेसका उम्मेदवार राजवंशीलाई साथ दिएका छन् ।
अघिल्लो निर्वाचनको जीत जोगाउन बानियालाई हम्मेहम्मे देखिन्छ भने राजवंशीलाई हारको बदला लिन अनुकुल मौका देखिएको छ ।
२०७० को निर्वाचनमा चौथो शक्तिको रूपमा रहेको नेकपा एमालेले राप्रपा र माओवादी केन्द्रको सहयोगमा २०७४ मा झापा क्षेत्र नं ३ (१) मा निर्वाचन जितेको थियो । तर, यसपटक त्यो अनुकुलता नरहेका कारण बानियालाई सहज छैन । एमालेको साथमा राप्रपा मात्र छ ।
राप्रपाबाट बिद्रोह गरेर बलियो जनमत बटुल्दै गरेका युवा हेमलाल भट्टराई समेत यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएका छन् । भट्टराई एमाले तथा राप्रपाका असन्तुष्ट मत समेटेर दलबाहिर रहेका मतदाताको साथ लिएर विजयी हुने लक्ष्यमा छन् । विगतदेखि निर्वाचन जितेका दलीय उम्मेदवारले यस क्षेत्रमा केही गर्न नसकेका कारण विकल्पमा आफू उभिएको दावी छ ।चुनावी तालमेल फरक भएपनि आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार बानियाले दावी गरिरहेका छन् ।

उता लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजवंशीले यसपटक आफ्नो लागि जित्ने माहोैल बनेको दावी गरेका छन् । ‘माहोल राम्रै बन्दै गएको छ ’उनले भने, ‘गत निर्वाचनको भन्दा स्थिति सुध्रिएको छ , निर्वाचन जित्छु ।’
कचनकवलमा बानियाभन्दा राजवंशी निकै बलियो देखिएका छन् तर भद्रपुरमा बानिया केही बलियो रूपमा देखिन्छन्् । तर गत स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा हस्तक्षेप गरेर भद्रपुरमा नेकपा एमालेको साख गिराउन बानियाको भूमिका रहेको भन्दै कतिपय एमाले कार्यकर्ता उनको विपक्षमा देखिनुले निर्वाचनको मत विग्रने संकेतको रूपमा हेरिने गरेको छ ।

झापाको क्षेत्र नं. ३ (१) भित्र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ पर्छ । यहाँको कुल मतदाता संख्या ५८ हजार ८ सय १७ रहेको छ । गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेसको जित रहेको छ ।
यसअघिको स्थानीय तहमा कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको थियो । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले नेपाली कांग्रेसको स्थितिमा यस क्षेत्रमा निकै सुधार गरेको देखिन्छ । राप्रपा र एमालेभित्र आन्तरिक समस्या र असन्तुष्टिको कारण मतदाता भड्किएको अवस्था छ । जसको फाइदा काँग्रेस गठबन्धनका उम्मेदवार राजवंशीले लिने देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्