झापा , कात्तिक १७ । २०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो ।
त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्याइयो । त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो । हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ । २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी जफत भएको थियो । तर, आजभोलि हजारौं उम्मेदवारको धरौटी जफत हुने गरेको छ । धरौटी रकम सरकारको सञ्चित कोषमा जम्मा हुन्छ । २०४८ को आम निर्वाचनमा उम्मेदवारलाई धरौटी शुल्कबापत ३ हजार रुपैयाँ तोकिएको थियो । २०५१, २०५६, २०६४ र २०७० सालमा समेत लागू भयो । यो धरौटी शुल्क जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार भएकालाई लागू गरिएको थियो ।




