झापा, कात्तिक १७ । झापामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको घटनाप्रति पत्रकारहरुले जिल्ला निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाद्वारा बिहीवार भद्रपुरमा आयोजित मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति ध्यानाकर्षण गराएका हुन् ।

निर्वाचन आयोगले तोकेकोभन्दा बाहिर गएर राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरिरहँदा आयोगको भूमिकाका विषयमा पत्रकारहरुले जिज्ञाशा राखेका थिए । जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत मधु पोखरेलले जिल्लामा आचारसंहिता उल्लंघनका घटना छिटपुट मात्र भएको र एक–दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको बताएपछि पत्रकारहरुले जिल्लामा भइरहेका उल्लंघनका घटनाका बारेमा अवगत गराएका थिए । अनुगमन समितिका अधिकृत पोखरेलले दल तथा उम्मेदवारहरूले मात्र नभई सबैले निर्वाचन आचारसंहिता पालना गर्नु पर्नेमा जोड दिए ।

‘जिल्लामा केही छिटपुट रुपमा आचारसंहिता घटना उल्लंघन भएको छ,’ उनले भने, ‘गम्भीर रुपमा आचारसंहिता उल्लंघनका घटना भने भएको छैन ।’
आचारसंहिता उल्लंघनका घटना रोकथामका लागि पाँच वटा निर्वाचन अधिकृतको कार्यालय, १५ वटै पालिकामा खटिएका कर्मचारी र प्रहरी परिचालन गरिएको उनले बताए । मौन अवधि शुरु भएसँगै आचारसंहिता उल्लंघनका घटना बढ्ने भएकाले सो अवधिमा जानकारी गराइदिन सञ्चारकर्मीलाई उनले आग्रह गरे ।

जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएको र हाल जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना पुगेको उनले बताए । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेका छन् । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी रहेको हो ।

जिल्लामा दुईवटा मतदानस्थल अस्थायी रुपमा तयार गरिएको छ । कैदीबन्दीका लागि झापा कारागार भद्रपुरमा एउटा र प्रहरी, कर्मचारीलगायतका अन्य नागरिकका लागि सदरमुकाममा अर्को मतदान केन्द्र तयार गरिएको उनले बताए । जिल्लामा ६ हजार २४२ जना अस्थायी मतदाता नामावली तयार गरिएको र उनीहरूले अस्थायी मतदान केन्द्रमा मतदान गर्ने पाउने उनको भनाई छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र झापा ५ मा रहेको र कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताए । उनका अनुसार झापा क्षेत्र नम्वर १ मा मतदाताको संख्या एक लाख २० हजार ३ सय ७५ र झापा ५ मा मतदाताको संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको छ । झापामा ७ सय ६८ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताए ।

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन जिल्लाका १३१ वटै वडामा रहेका महिला स्वयम्सेविकाहरुलाई परिचालन गरिएको छ । उनीहरूले मतदान प्रक्रियाका विषयमा घरदैलोमार्फत मतदातालाई सहजीकरण गर्ने जनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण जनशक्तिको तयारी पूरा गरिसकेको र उनीहरुलाई निर्वाचन क्षेत्रमा खटाउने तयारी भइरहेको बताए ।

झापामा रहेका कूल मतदान केन्द्रमध्ये २ सय ८१ वटा मतदान केन्द्र अति संवेदनशील ,३ सय ७१ वटा संवेदनशील र बाँकी सामान्य रहेको उनको भनाई छ । निर्वाचनको सम्मुखमा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकरी रिजालको भनाई छ ।कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि,निर्वाचन कार्यालयका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्