पथरीशनिश्चरे, कात्तिक १७ । मोरङको डाँगीहाट युथ क्लब लक्ष्मीमार्गमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।


पाहुना टोली झापाको रोलिङ क्लब धुलाबारीको चुनौतीलाई बिहीबार टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले समाप्त पार्दै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।टाइब्रेकरमार्फत आयोजक डाँगीहाट विजयी भएको हो । उत्कृष्ट प्रदर्शन गरेको झापा समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भयो । टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको दिशा लिन सकेन । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे । खेलमा दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाए । तर अवसरलाई सदुपयोग गर्न सकेनन् । जसका कारण खेल निर्धारित समयमा नसकिएर टाइब्रेकरमा धकेलिएको हो ।

आयोजक डाँगीहाटका सुशील राईको एकपछि अर्को प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले विफल पारिदिए । झापाका रजिन सुब्बाको १४ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले रोकिदिए ।

अभिषेक गुरुङले १८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४२ औँ मिनेटमा प्रहार गरेको फ्रिकिकमा गोलरक्षक गिरी बाधक बनिदिए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरीले ५ हजार नगद पुरस्कार पाए । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्