झापा, कात्तिक १७ । बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा झापाको अर्जुनधारा नगरपालिका–९ मा पवित्र हरि मन्दिर निर्माण गरी हरिभक्त सेवा संघ शाखालाई मन्दिर हस्तान्तरण गरेका छन् ।

स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई रू एक करोडको लागतमा मन्दिर निर्माण गरी बिहीबार हस्तान्तरण गरेका हुन् ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराईलगायतले मन्दिर परिसरमा निर्माण गरिएको मन्दिर शिलालेखको अनावरणपश्चात् समितिलाई हस्तान्तरण गरेका थिए । नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कठ्ठा १ धुर जग्गादान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि उनको २०७७ कात्तिक १७ गते कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाएको छोरा निर्मल भट्टराईले बताए ।

“बुबाले मन्दिर बनाउने उद्देश्यले जग्गासमेत व्यवस्थापन गर्नुभएको थियो”, उनले भने, “उहाँको सोचलाई हामीले मूर्तरुप दिएका हौं ।”
मन्दिर निर्माणसँगै पिताको स्मृतिमा रू ५० लाखको अक्षयकोष स्थापना गर्न लागिएको समेत उनले बताए । कोषबाट प्राप्त रकम विपन्न समुदायको स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा खर्च गरिने र क्रमशः कोषलाई रू एक करोडको बनाइने उनको भनाई छ ।
साथै भट्टराई परिवारले सो भवन निर्माणका लागि दिएको जग्गाको धनीपुर्जा समेत प्रदान गरेका छन् । युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई, उनकी श्रीमती सुमित्रा र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनीपूर्जा वडा नं ९ का वडाध्यक्ष मिश्र , नगर प्रमुख गोम्देन तथा मन्दिरको अध्यक्ष शान्ता विष्टलाई प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले सक्षम समाज निर्माणमा धर्मको योगदान उच्च हुने बताए । धर्मले मानिसलाई अनुशासित र समक्ष बनाउन मद्दत गर्ने समेत उनले उल्लेख गरे । उनले समाजलाई समृद्धि बनाउन धर्मको महत्वपूर्ण योगदान रहेको भन्दै भट्टराई परिवारले मन्दिर निर्माण गरेको सहयोगको सराहना गर्दै मन्दिरको थप विकास लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष मिश्र, सामाजिक धार्मिक व्यक्तित्व सत्यनाथ भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्