झापा , कात्तिक १८ । डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ ।

रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो । माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो । उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो । अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ । बिनिताले कम्पनिमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुःख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्