झापा , कात्तिक १८ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ-छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले अधिकारीलाई घरमा लुकाइ छिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनलाई लागूऔषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न तीन किसिमका लागुऔषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए । बसपार्कमा हिडि रहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो । उनीहरूलाई म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । लागूपदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र फुयाललले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्