झापा, कात्तिक १८ । पूर्व संचारकर्मी एवं इस्ट हराइजन मावि धुलाबारीकी भुतपूर्व विद्यार्थी आस्था सुब्बाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयकी अधिकृत रहेकी सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो । अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो । अधिकृत सुब्बा मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत थिइन् । उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् ।

उनले राहदानी विभागमा पनि काम गरेकी थिइन् । सुब्बाको पति र नाबालक छोरा छन् । ‘हामीले एक कुशल अधिकृतलाई गुमायौं । निकै दुःख लागेको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।
पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले एक प्रतिभाशाली अधिृकत गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन् ।

उनी विगतमा कंचनजंघा एफएमकी कार्यक्रम संचालिका रहेकी थिइन् । उनले धुलाबारी माविमा कक्षा ९ र १० अध्ययन गरेकी थिइन् ।अध्यापन गर्दा अत्यन्तै मेधावी विद्यार्थी सुब्बाको दुर्घटनामा निधन भएको समाचारले अत्यन्तै विह्वल र स्तब्ध बनाएको विद्यालय परिवारले जनाएको छ । उनी सोही धुलाबारी माविकी पूर्व शिक्षक हरिमाया सुब्बाकी जेठी छोरी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्