बिर्तामोड , कात्तिक १८ । आफ्ना पितापूर्खाले दुर्गा मन्दिरलाई दान दिएको जग्गालाई हिनामिना गर्न फेरि अर्को समूह सल्बलाएको आशंका गर्दै डोमालाल राजवंशीको परिवारले आपत्ति जनाएका छन् ।

‘उल्फाको धन फुपुको श्राद्ध’ भनेझैं जग्गादाता राजवंशी परिवारलाई वास्तै नगरी टाठाबाठाहरुले मनोमानी गर्न खोजेपछि उनीहरुले त्यसप्रति चासो राख्दै आपत्ति जनाएका हुन् । विगतमा मन्दिरलाई दान दिएको जग्गा कसले र कसरी बिक्री गरे ? र अहिले सो जग्गा कसले के उद्धेश्यले फिर्ता गराउन खोजेको विषयमा आफूहरुको चासो रहेको राजवंशी परिवारले जनाएका छन् ।

नेकपा एमालेका नेता एवं झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अग्नि खरेलले चुनाव प्रचारप्रसारका क्रममा आफूले डोमालाल राजवंशीले दान दिएको डोमालाल राजवंशी रंगशालाको जग्गा फिर्ता गराउन पहल गरिरहेको बताउँदै आएका छन् । उनले त्यसलाई चुनावी एजेन्डा नै बनाएका छन् । खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गरेको बताइएको छ । कित्ता नम्बर १२०, ८२२, ८२५ र ८१५ को जग्गा क्रमशः १ विगाह २ कठ्ठा १० धुर, ६ कठ्ठा, १३ कठ्ठा र ७ कठ्ठा ८ धुर जग्गाहरुबाट प्राप्त हुने जग्गाहरुको हकमा विमलीले उक्त जग्गाहरु अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला गर्नेगरी गुठी संस्थानलाई प्रदान गर्ने सहमति जनाएको बताइएको छ । अब कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा रहेको छ । त्यसलाई पनि फिर्ता गराउने पहल गरिरहेको खरेलले बताएका छन् ।

खरेलले आफूहरुलाई सोध्दै नसोधी र कुनै सल्लाह नगरी आफूखुशी गर्न लागेको भन्दै दाता परिवारले आपत्ति जनाएका हुन् । आफ्नो हजुरबुवाले दान दिएको जग्गामा आफूखुशी गर्ने छुट कसैलाई नभएको भन्दै डोमालालका नाति छविलाल राजवंशीले आपत्ति जनाए । ‘जग्गा किन्नेहरुबाट कुन शर्तमा खरेलले फिर्ता गराउन लागेका हुन् ? र फिर्ता गराएपछि त्यो जग्गा के प्रयोजनमा लगाउने हो भन्ने कुरा हामीलाई सोध्नु पर्दैन ?’ उनले प्रश्न गर्दै भने‘पहिलाको जस्तै फेरि पनि हाम्रो जग्गा हिनामिना हुन्छ भन्ने शंका छ ।’

डोमालालले करिव १२ विगाह जग्गा दान दिएका थिए । त्यसमै डोमालाल राजवंशी रंगशाला अवस्थित छ । त्यसबाहेक आधाजति जग्गा मोहीले कमाउँदै आएका छन् भने पौने १० कठ्ठा जग्गा दाता राजवंशी परिवारले चर्चेका छन् । भूमिहीन बनेका राजवंशी परिवारले त्यही जग्गामा घर बनाएका छन् । एकपटक हिनामिना भइसकेको जग्गा यदि साँचो मनले फिर्ता गराउने पहल भइरहेको हो भने त्यस कार्यमा आफ्नो परिवार र सिंगो राजवंशी समुदायको सहयोग रहने डोमालालका जेठा नाति भीमबहादुर राजवंशीले बताए । तर, त्यस जग्गाका विषयमा हुने हरेक निर्णयमा सहभागी हुने आफूहरुको हक रहेको उनले स्पष्ट पारे । उनले आफ्नो हजुरबुवाले दान दिएको जग्गामा स्थापना हुन लागेको रंगशाला कमाइ खाने भाँडो बन्न नहुने भन्दै आफ्नो परिवारको किर्ती रहनेगरी व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । उनले बिचल्लीमा परेको आफ्नो परिवारका बारेमा कसैले पनि सोधीखोजी नगरेकोमा गुनासो व्यक्त गरे । ‘ हजुरबुवाले दान दिएको जग्गामा पहिलो हक हाम्रो हो’ उनले भने ,‘ हामीले कमाएको जग्गा हाम्रो नाममा फिर्ता हुनुपर्छ ।’रंगशालासंगै आफ्नो परिवारको लागि आधिकारिक रुपमा जग्गा व्यवस्थापन गर्न उनले आग्रह गरे ।

दाता परिवारलाई अपहेलना
डोमालाल राजवंशी रंगशाला संरक्षण समितिले आफूहरुलाई अपहेलना गरेको दाता राजवंशी परिवारले गुनासो गरेका छन् । सो रंगशालामा झापा गोल्डकप हुँदा आफूहरुलाई टिकटबिना भित्र छिर्न नदिएको डोमालालकी नातिनी बुहारी ललिता राजवंशीले गुनासो गरिन् । उनले त्यसबेला आफूले गेटमा बस्नेहरुसंग झगडा गरेको सुनाइन् । त्यस्तै गत कात्तिक ४ र ५ गते रंगशालामा आयोजित झापा उत्सव हेर्न जाँदा आफूलाई फर्काइदिएको डोमालालकी छोरी सम्पत्ति राजवंशीले दुखेसो पोखिन् । रंगशाला संरक्षक समितिले एक–दुई पटक नगदसहित सम्मान गरेको भन्दै उनले दाता परिवारले पाउनुपर्ने सम्मान नपाएको बताइन् ।‘हामी सोझा सीधा गरिव राजवंशी हौं जे गरेपनि हुन्छ भन्ने सोचेका होलान् ’ उनले गुनासो गर्दै भनिन् ‘आफूले किनेर दिन नसक्ने अरुको जग्गामा रजाई गर्न खोजेको देख्दा मन दुख्छ ।’

यसैबीच नेपाल आदिवासी जनजाति महासंघ झापाले डोमालाल राजवंशीको परिवारको पक्षमा आवाज उठाउने भएको छ । मंसिर ४ को निर्वाचनलाई लक्षित गरी आदिवासी जनजातिको अधिकारका सम्बन्धमा उम्मेदवारहरुको प्रतिवद्धता खोज्दै आएको महासंघले झापा क्षेत्र नं २ का उम्मेदवारहरुलाई डोमालाल राजवंशीको परिवारका बारेमा ध्यानाकर्षण गराउन लागेको अध्यक्ष पाण्डवलाल चौधरीले बताए । उनले कात्तिक १९ गते बिर्तामोडमा झापा २ का उम्मेदवारहरुसंग अन्तरक्रिया कार्यक्रम राखिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्