झापा, कात्तिक २० । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ ।

ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनले भने, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्‍याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ । फक्ताङलुङ -२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईले बताए । उनका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्