झापा, कात्तिक २० । झापामा निर्वाचन आचारसंहिता उल्लंघन तीब्र रुपमा भइरहेपनि निर्वाचन आयोगले कार्वाही गर्न सकिरहेको छैन ।

निर्वाचनका कुनै पनि गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने र प्रयोग गरेको पाइएमा ३ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान छ । तर, उम्मेदवारहरुले खुलेर बालबालिका प्रयोग गरिरहेको पाइएको छ । झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले बालबालिकालाई भोट माग्न प्रयोग गरेको पाइएको छ । उनले बालबालिकालाई भोट केमा ? क्रस खुकुरीमा भनेर नारा लगाउन लगाएको भिडियो सार्वजनिक भएको छ । आफूले घरदैलो कार्यक्रम गर्दैगर्दा बाटोमा भेटिएका बालबालिकाहरुसंग हात मिलाएको र उनीहरुले आफ्नो लागि नारा लगाएको उम्मेदवार नेपालले बताए ।

त्यस्तै एमाले र राप्रपाको चुनावी कार्यक्रममा पनि बालबालिका प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई झन्डा बोकाएर चुनावी कार्यक्रममा हिँडाउने गरिएको पाइएको छ । त्यस्तै निर्वाचन आचारसंहिताविपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिँड्ने गरेको पाइएपनि निर्वाचन आयोगले कारवाही चलाउन सकेको छैन ।
निजामती सेवा, सरकारी संस्थान तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक ,सरकारी कर्मचारी खुलेरै भोट मागिरहेको भएपनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको हो ।
निर्वाचन आचारसंहिता उल्लंघनमा नेकपा एमालेसम्बद्ध कर्मचारी बढी सक्रिय रहेको पाइएको छ भने नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपासम्बद्ध कर्मचारी पनि भोट माग्न हिड्ने गरेको पाइएको छ ।


पछिल्लो पटक झापा क्षेत्र नम्बर १ र ३ का नेकपा एमाले राप्रपा गठबन्धनको उम्मेदवारलाई जिताउन भन्दै घरदैलो र कोणसभामा मेची अस्पतालमा कार्यरत कर्मचारी डिल्ली पोखरेल माइकिङ तथा उद्घोष गर्दै हिड्ने गरेका हरेक दिनका तस्वीर तथा भिडियोहरू नेकपा एमाले सम्बद्ध कार्यकर्ता र पार्टीका आधिकारिक पेजहरूमा देखिने गरे पनि सम्बद्ध निकायले ध्यान दिन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्