झापा, कात्तिक २१ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा निर्मित १५ शैयाको हिमालयन शेर्पा अस्पतालको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

आइतबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका- ३ फाक्दिङमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले हिमालयन शेर्पा फाउण्डेशनले २० करोड लागतमा निर्माण गरेको अस्पतालको उद्घाटन गरेकी हुन्। ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालबाट खुम्बु पासाङ ल्हमू ३ का फाक्दिङ क्षेत्रका ११ वटा बस्तीका र पर्यटक गरी करिब १० हजार नागरिक लाभान्वित हुने हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले जानकारी दिए। यसअघि उपचारका लागि स्थानीय लुक्ला वा नाम्चे धाउनुपर्ने बाध्यता थियो। फाउण्डेशनका अध्यक्ष शेर्पाका अनुसार स्थानीयको माग अनुसार निशुल्क उपचार सेवा प्रवाह गर्ने गरी अस्पतालको निर्माणको योजना अघि सारिएको हो। अस्पतालमा अहिले एकजना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी रहेका छन्। कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सरोकारवालाहरुको सहकार्यबाट मात्रै दीगो विकास सम्भव हुने बताएकी छन्। सरकारले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकताबाट माथि उठेर आमनागरिक सकेको योगदान गर्न सके दीगो र प्रभावकारी विकास हुने बताइन्। कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले अस्पतालले खुम्बु पासाङ ल्हमू ३ का नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए। कार्यक्रममा अस्पताल निर्माणमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको छ । २० करोड लागतमा निर्माण गरेको अस्पतालबाट ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा प्रदान गरिनेछ । निशुल्क उपचार सेवा प्रवाह गर्ने लक्ष्य सहित संचालनमा आएको अस्पतालमा अहिले एकजना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्