झापा, कात्तिक २१ । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको छ भने स्काइलाइट गेमिङले तेस्रो स्थान हािसल गरेको छ ।

उत्कृष्ट प्रदर्शनसँगै नेपालका तीन टिम (डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल) ग्लोबल च्याम्पियनसिपमा छनोट भएका छन् । कुल १ लाख ५० हजार अमेरिकी डलर पुरस्करको चार दिन चलेको च्याम्पियनसिपमा मंगोलियाको गडलाइट स्टलवार्टले सर्वाधिक २ सय ६४ अंक जोड्दै उपाधि जित्यो । पब्जीको दक्षिण एसियाली क्षेत्रको सबभन्दा महत्वपूणर् प्रतियोगितामा डीआरएसलाई गडलाइटले कडा चुनौती दियो । एसियाली खेलकुदको प्रारम्भिक चरणको छनोट जितेको टिम डीआरएसले सुरुआतमा अग्रता लिएको थियो । तर, उसले गडलाइटको आक्रामक खेललाई पन्छाउन सकेन । त्यसैले डीआरएस उपविजेतामै रोकियो । उसले २ सय ५६ अंक बनायो । स्काइलाइट २ सय ३१ अंकसहित तेस्रो स्थानमा रह्यो । पाकिस्तानको एजीएक्सआईएट (२ सय २९ अंक) चौथो र नेपाली टिम ट्रेन्ड टु किल (२ सय २० अंक) पाँचौं स्थानमा रहे ।

छनोट चरण पार गरेका १६ टिमले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानका ६-६ टिम थिए भने मंगोलियाका चार टिम सहभागी थिए । नेपालका हाई भोल्टेज (२ सय ६ अंक) सातौं भयो । इलेमेन्ट्रिक्स (१ सय २२ अंक) १२ औं र भेनम लिजेन्ड्स (१ सय १० अंक) १५ औं स्थानमा रहे । नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले नेपाली टिमका खेललाई छाया सेन्टरस्थित क्यूएफएक्समा प्रदर्शन गरेको थियो । डीआरएसले २८ हजार डलर (करिब ३६ लाख रुपैयाँ), स्काइलाइटले १८ हजार (रु.२३ लाख), ट्रेन्ड टु किलले ७ हजार डलर, हाइ भोल्टेजले ५ हजार ५ सय, इलेमेन्ट्रिक्सले ४ हजार र भेनम लिजेन्ड्सले ३ हजार डलर प्राप्त गरे । उपाधि विजेता गडलाइटले ४० हजार डलर हात पार्‍यो । क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल पब्जी मोइबाल ग्लोबल च्याम्पियनसिप २०२२ मा छनोट भएका छन् । कुल ४० लाख डलर पुरस्कारको ग्लोबल च्याम्पियनसिप २०२२ नोभेम्बर १० देखि २०२३ जनवरी ८ सम्म हुनेछ , जहाँ विश्वका विभिन्न क्षेत्रबाट छनोट भएका ४८ टिमले जाकार्ता र क्वालालम्पुरमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्