बिर्तामोड, कात्तिक २२ । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उम्मेदवारले हातपात गरेका छन् ।

हिजो साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उम्मेदवार-मतदाता अन्तरक्रियामा हरि रानाका कार्यकर्ताहरूले हातपात गरेपछि विवाद भएको थियो । प्रहरीले घटना साम्य बनाएको नेपालले बताए ।
कार्यक्रममा नेपाललाई रानाका कार्यकर्ताले गरेको प्रश्नको जवाफ दिनबाट रोक्दै नेपाल बोल्दाबोल्दै रानाले माइक तानेपछि तनाव उत्पन्न भएको हो । स्वतन्त्र उम्मेदवार नेपालले जवाफ दिने क्रममा बीचैमा रोकेर सत्ता गठबन्धनका उम्मेदवार रानाले जवाफ दिन आवश्यक नरहेको भन्दै नेपालले बोलिरहेको माइक खोस्न पोडियमसम्म पुगेपछि विवाद सिर्जना भएको कार्यक्रममा सहभागी रोशन बोहोराले बताए ।

स्वागत नेपालका प्रचार समिति सदस्य तुलसी उप्रेतीले नेपालमाथि भएको दुव्र्यवहारको भिडियो आफूहरूसँग सुरक्षित रहेको बताएका छन् ।

नेपालले बोल्दा रानाका कार्यकर्ताले पटकपटक माइकको आवाज काटिदिएको बताइएको छ । झापाको बिर्तामोड महानन्द चोकनजिक सिके चिन्तन प्रतिष्ठानमा स्थानीय युवाले आयोजना गरेको अन्तरक्रियामा गठबन्धनका पक्षधर रानासँग आएका युवाले कार्यक्रम हलको ढोकाको चुक्कुल लगाएर आफूलाई बाहिर आउन नदिइ नियन्त्रणमा लिएको उम्मेदवार बताए ।

रानाका कार्यकर्ताले नेपाललाई स्वागत नेपालको नाम भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल भनेर झुक्याएको भन्दै प्रश्न गरेका थिए । नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली र बीपीले आम रुपमा बोलाइने र लेख्ने प्रचण्ड, केपी र बीपी नाममा कसैको पनि नागरिकता नभएको र आफ्नो पनि सबै पुस्तक उपनामबाटै छापिएकोले ती पुस्तक पढेर जानकारी लिन जवाफ दिएका थिए । उनको जवाफपछि रानाले ‘अब जवाफ दिन आवश्यक छैन’ भन्दै नेपालको हातबाट माइक खोस्न रोष्ट्रममै पुगेका थिए । आफूलाई अग्रज भनेर सम्मान जनाउँदा जनाउँदै रानाले अभद्र व्यवहार देखाएको नेपालले बताए । हिजोसहित आफूलाई तीनवटा कार्यक्रममा दलका उम्मेदवारहरुले रोक्ने काम गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्