झापा, कात्तिक २२ । बैंकहरुले मनोमानी ढंगले लगानी रकममा बृद्धि गरेको व्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायी आन्दोलित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आह्वान अनुसार झापाका उद्योगी–व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापामा मंगलवार ज्ञापनपत्र बुझाउँदै आन्दोलन शुरु गरेका हुन् ।
जिल्लाको सदरमुकाम भद्रपुरस्थित विद्युत प्राधिकरण छेउबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीले प्रशासन परिसरिमै कोणसभा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी–व्यवसायीले ज्ञापनपत्रमाथि गम्भीर भएर समस्याको समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन्।
झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल भेनियर्स उत्पादक संघ, प्रोपर्टी डिलर्स एशोसिएशन झापा, महिला उद्यमी संघ झापालगायतका संस्थाले एउटै व्यहोराको छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सञ्चालन गरेको संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, अग्रज उद्योगी चण्डीप्रसाद पराजुलीलगायतले पछिल्लो समय बैंकहरुले ऋण लगानीमा मनोमानी ढंगले ब्याज बढाएर लाखौं उद्योगी–व्यवसायीलाई सडकमा पुर्याउने काम गरेको बताए ।
उनीहरुले उद्योगी–व्यवसायीको यो मागप्रति सरकार र बैंकहरु उदासीन रहे कडा आन्दोलन गर्ने, आफ्ना उद्योग–प्रतिष्ठानका तालाचाबी सरकार र सम्बन्धित बैंकहरुलाई जिम्मा लगाउने चेतावनी दिए ।
पर्याप्त तरलता रहेका बेला घर–घरमा धाएर ऋण खान उकासेका बैंकहरुले अहिले विभिन्न बहानामा ऋणमा दोब्बर व्याजदर थोपरेर उद्योगी–व्यवसायीलाई अप्ठ्यारोमा पारेको, बैंकहरुले जबरजस्ती ऋण असुल्न खोजेको, धम्कीपूर्ण व्यवहार गरेकोजस्ता गुनासो उद्योगी–व्यवसायीहरुको छ ।
उद्योग–व्यवसायजन्य संघ–संस्थाहरुले सम्बन्धित बैंकहरुमा बुधबार ज्ञापनपत्र बुझाउने र सो दिन बैंकहरुसँग कुनै पनि प्रकारको कारोबार नगर्ने विरोधको कार्यक्रम रहेको प्रदेश अध्यक्ष ढकालले जानकारी दिए ।
ज्ञापनपत्र ग्रहण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले उद्योगी–व्यवसायीको माग सम्बन्धित निकायहरुमा तत्कालै पठाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।