बिर्तामोड, कात्तिक २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. २ मा एमालेको मान्छे चोरी गरेर गठबन्धनले उम्मेदवार बनाएको आरोप लगाएका छन् । गठबन्धनलाई उम्मेदवार समेत खडेरी परेको ठाउँमा चुनाव कसले जित्छ भन्नै नपर्ने बताए ।

अुर्जनधारास्थित सालबारी सुखानी पार्कमा संयुक्त निर्वाचन परिचालन समिति क्षेत्र नं. २ ले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उम्मेदवार समेत नभएको गठबन्धनमा कार्यकर्ता र मतदाता समेत नभएको दावी गरे ।
एमालेको सामान्य कार्यकर्तालाई चोरी गरेर गठबन्धनले उम्मेदवार बनाएको भन्दै उनले देशभर गठबन्धनको हालत विजोग भएको दावी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने – ‘एमालेका उम्मेदवार देवराज घिमिरेको सामान्य कार्यकर्तालाई गठबन्धनले उम्मेदवार बनाएछ । गठबन्धनको विजोग यसैबाट स्पष्ट भइसक्यो ।’
चर्का कुरा गर्दा २÷४ जनाले ताली बजाए भन्दैमा केहि व्यक्तिहरु उम्मेदवार बनेको बताउँदै ओलीले त्यस प्रकारका उम्मेदवारबाट मतदातालाई सजग रहन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रमा सबैलाई उम्मेदवार बन्ने छुट छ । त्यही छुटको उपभोग केहि स्वतन्त्रका नाममा गरिएको छ । जनताको निम्ति उनीहरुबाट केहि हुनेवाला छैन ।’
एमालेका उम्मेदवारसँग कोहि कसैलाई दाँज्न समेत नमिल्ने उनको भनाई छ । अध्यक्ष ओलीले झापा २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे जनताको सेवामा ४७ वर्ष बिताएको बताए । ‘घिमिरेजी लहडमा उम्मेदवार बन्नु भएको होइन, व्यापक अनुभवका आधारमा उहाँलाई पार्टीले उम्मेदवार बनाएको हो’ उनले थपे । प्रदेश उम्मेदवार एकराज कार्की र चिन्तन पाठक लामो समयदेखि जनसेवामा रहेको भन्दै योग्य व्यक्तिलाई उम्मेदवार बनाएको बताए । ‘म बच्चैदेखि उहाँहरुलाई जान्दछु, चिन्तन कमरेडले त जिल्लाको पार्टीको नेतृत्व नै गर्नुभएको हो’ उनले भने – ‘त्यसैले एमालेका योग्य उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछु ।’
अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको बताए । एउटा सामान्य होली रहेको सालबारीलाई असाधारण रुपमा विकास गरेर पर्यटकीय हव बनाएको ओलीले जानकारी गराए । जंगल नमासीकन जंगलको संरक्षण गरेर सुखानी सहिद स्मृति पार्क, नजिकै पोखरी लगायत संरचना बनाइएको बताए ।
चुनावी सभामा उम्मेदवारहरु र राप्रपाका झापा अध्यक्ष केशव ओझालगायतले सम्बोधन गरेका थिए ।