झापा , कात्तिक २३ । भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् ।

एक जना बेपत्ता भएको र एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
भूकम्पले ८ वटा घर भत्किएका छन् । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् । भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्