बिर्तामोड, कात्तिक २३ । पछिल्लो समय बैंकहरुले व्याजदरमा गरेको चर्को वृद्धिविरुद्ध बिर्तामोडका व्यापारीहरुले सडकमा शान्तिपूर्ण विरोध र्याली गर्नुका साथै बैंकहरुमा ज्ञापनपत्र बुझाएका छन् ।

व्यापारीहरुले वुधबार हातमा कालोपट्टी बाँध्नुका साथै ‘व्याजदर चर्को भो गरिखान गाह्रो भो, गरिखाने मर्दैछ सरकारको राजश्व घट्दैछ’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघले विरोधस्वरुप बुधबार बैंकमा कारोबार नगर्नसमेत उद्योगी व्यापारीहरुलाई आह्वान गरेको थियो ।
व्यापारीहरुले बिर्तामोडमा रहेको नेपाल बैंक लिमिटेडसहित २७ वटा बैंकका शाखामा ज्ञापनपत्र बुझाएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
विरोध र्यालीपश्चात् व्यापारीहरुले खड्का कम्प्लेक्स अगाडी कोणसभा गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महासचिव अर्जुनकुमार मैनालीलगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।
बैंकले गरेको चर्को व्याजदर वृद्धिका कारण कैयन उद्योगी व्यवसायीहरु पलायन हुने स्थिति रहेको, कतिपयले घरबारी बेच्नु पर्ने अवस्था रहेका कारण विरोध गर्नु परेको वाणिज्य संघका उपाध्यक्ष तथा प्रवक्ता सञ्जिव घिमिरेले बताए । बैंकहरुले बेसरेटमा पाँच प्रतिशतसम्म व्याजदर वृद्धि गर्दा व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
आगामी २७ गते आइतबार प्रदेश १ का सम्पूर्ण उद्योगी व्यवसायीहरु तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थितिमा नेपाल राष्ट्र बैंक प्रदेश १ को कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाउने, २८ गते सम्पूर्ण उद्योग वाणिज्य संघ नगरका अध्यक्षहरुले नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापनपत्र बुझाउने र सोपश्चात् महासंघका पदाधिकारीहरुसहित नेपाल राष्ट्र बैंकको प्रधान कार्यालयमा जाने कार्यक्रम रहेको घिमिरेले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको र्यालीमा झापास्थित नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल महिला उद्यमी समूह, प्रोपर्टी डिलर्स एशोसिएसन नेपाल, होलसेल मदिरा व्यवसायी संघ, नेपाल प्लाइउड उत्पादक संघलगायत दर्जनबढी संघसंस्थाको सहभागिता रहेको संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।
र्यालीमा नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल प्लाइउड उत्पादक संघका दिपक पाण्डे, महिला उद्यमी समूहका अध्यक्ष तिलोत्तमा खत्री, होलसेल मदिरा व्यवसायी संघका अध्यक्ष तेजप्रकाश बास्तोला, सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइली, उपाध्यक्ष रमेश पोर्तेल, हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मात्रिका कोइराला, वाणिज्य संघका सचिव कुशल खतिवडा, सहकोषाध्यक्ष राधिका चुडाल, सदस्य तुलसा ढकाललगायत पदाधिकारीहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।