झापा , कात्तिक २३ । युवा नागरिक समाज झापाले विचार पुर्याएर मात्र मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।

बुधबार झापाको बिर्तामोडमा मोटरसाइकल र्यालीको आयोजना गर्दै समाजले मतदाताहरुलाई त्यस्तो आग्रह गरेको हो । हाम्रोलाई होइन राम्रोको पहिचान गरि मतदान गर्न भन्दै विकास तथा सुशासनका लागि नागरिकलाई विवेकको मत प्रयोग गर्न समाजले आग्रह गरेको हो ।
सैनिकमोडबाट शुरु गरिएको मोटरसाइकल र्याली बिर्तामोड नगरपालिका परिक्रमापछि मुक्तिचोकमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीले पटक–पटकको निर्वाचनमा युवाले हालेको भोटको कदर नभएको बताए । उनले गलत उम्मेदवारलाई मत नदिन आग्रह गरे । युवा परिवर्तनको पक्षधर भएकोले आस्था जता भएपनि परिवर्तनको भिजन बोकेका जुनसुकै उम्मेद्वारलाइ भोट हाली विकास र सुशासनका लागि योगदान गर्न उनको आग्रह थियो । अबको परिवर्तन युवा शक्तिले मात्र गर्नसक्ने उनले बताए ।