झापा, कात्तिक २४ । मोरङ क्षेत्र नम्बर–३ को (१) का लागि निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम गर्दैछ ।
प्रदेश सभा सदस्यका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नयाँ निर्वाचन कार्यक्रम तय गरिएको हो । निर्वाचन कार्यक्रम अनुसार भोलि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मंसिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ ।
जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार थापा उम्मेदवारी दर्ताको भोलिपल्ट अर्थात् असोज २४ गते अस्पताल भर्ना भएका थिए ।
केही दिनअघि डेंगुको संक्रमण देखिएका उनलाई निमोनिया पनि भएको थियो । प्रदेश–१ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री समेत रहेका थापाको निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।