झापा , कात्तिक २५ । नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।

ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम रह्यो । बंगलादेश भने सात अंकमै सीमित रह्यो । तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो

महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रो पल्ट हो । दक्षिण एसियाली फुटबलमै नेपालले उपाधि जितेको भने यो पहिलो पल्ट हो । यसअघि नेपालले २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजनल च्याम्पियनसिप जितेको थियो । नेपालले बंगलादेशविरुद्धको दोस्रो खेलमा सुशिला केसीको गोलले १४ औं मिनेटमा अग्रता लिएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन । यसपछि खेल रोमाञ्चक बनेको थियो । यसै क्रममा खेलको अन्त्यतिर विपना स्नेहीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेश गोल गर्न चुकेको थियो । बंगलादेशले उपाधि हात पार्नका लागि नेपालमाथि यस खेलमा निश्चित जित निकाल्नु आवश्यक थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्