झापा, कात्तिक २५ । माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिनाको उपचारपछि मृत्यु भएकी इलाम सूर्योदयकी बिनिता ढुंगेलको शव नेपाल ल्याइएको छ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालको विशेष पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो। अर्यालको नेतृत्वमा एनआरएनएको सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो।

माल्टा पुगेपनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो। तर एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेर शव पठाइएको हो। यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो ।

कुटनीतिक पहलमार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताए। ४५ दिनअघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना हुनपरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्