झापा, कात्तिक २६ । झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले नेपाल आदिवासी जनजाति महासंघ झापाले समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको आरोप लगाएका छन् ।

आफूलाई बोलाउँदै नबोलाएको कार्यक्रममा महासंघले जनजातिको सवालमा आफू डराएर नआएको भनेर समुदायमा घृणा पैदा गर्ने कुत्सित मनसाय राखेर प्रचार गरेको उनले आरोप समेत लगाए । झापाका पाँचवटै क्षेत्रका उम्मेदवारहरुसंग आदिवासीका अधिकारका बारेमा प्रतिवद्धता जनाउन लगाउने उद्धेश्यले महासंघको झापा शाखाले पाँच स्थानमा उम्मेदवारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यसक्रममा कात्तिक २० गते बिहान ८ बजे भद्रपुर ५ स्थित एभरेट होटलमा झापा क्षेत्र नं ३ का उम्मेदवारहरुसंग महासंघले कार्यक्रम राखेको थियो । कार्यक्रममा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलालगायतका उम्मेदवारहरु सहभागी भएका थिए । तर,एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका लिङ्देन उपस्थित थिएनन् । निमन्त्रणा गर्दासमेत लिङ्देन नआएको आयोजकले प्रचार गरेका थिए ।

आज भद्रपुरमा पत्रकार सम्मेलन गरी लिङ्देनले महासंघले आफूलाई त्यस कार्यक्रममा नबोलाएको स्पष्ट पारे । बोलाउँदै नबोलाएको कार्यक्रममा उपस्थित नहुँदा आफूलाई जनजाति विरोधी र पहिचान विरोधी भनेर महासंघले जात र धर्मको आधारमा भ्रम पैदा गर्न खोजेको आरोप लगाए । ‘ जनजातिका नाममा एक छाकको लागि, एक ट्वाकको लागि भेला गर्ने त्यस्ता संगठनको क्रियाकलापप्रति म निन्दा गर्छु’ उनले भने ,‘ त्यस्ता भ्रमप्रति सबैलाई सतर्क रहन आग्रह गर्न चाहन्छु ।’ जात धर्मको विवाद गर्नेहरु देशद्रोही भएको ठहर गर्दै उनले जनजातिको विषयमा, जाति विशेषको विषयमा आफू छलफल गर्न र जवाफदेही बन्न तयार रहेको धारणा राखे । कसैले प्राप्त गरिरहेको आरक्षणप्रति आफूहरुको विरोध नभएको भन्दै लिङ्देनले आरक्षणमा परेका जात विशेषबाहेकका गरीवहरुले पनि आरक्षण पाउनु पर्छ भन्ने राप्रपा र राजेन्द्र लिङ्देनको धारणा रहेको स्पष्ट पारे । आरक्षणको सवालमा पुनरावलोकन हुनुपर्छ उनको भनाई छ ।

निवर्तमान संघीय सांसद लिङ्देनले कालोपत्रे हेर्न अन्यत्र जानुपर्ने अवस्था रहेको झापा क्षेत्र नं ३ मा आफ्नो पाँच वर्षको अवधिमा धेरै विकास निर्माण भएको दावी गरे । चारआली –केचना सडक , जलथल जंगलमा सोलार फेन्सिङजस्ता महत्वपूर्ण काम आफ्नै पहलमा भएको बताउँदै उनले प्रतिद्वन्द्वी उम्मेदवार सिटौलाले गरेको दावी खारेज गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्