भद्रपुर, कात्तिक २६ । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्नेे बताएका छन् ।

झापाको राजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वी नेपालका झापा ,मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका उपयोगी कार्यक्रम ल्याएर सम्बोधन गर्न आफू निरन्तर लागिरहने बाचा गरेका हुन् ।

अहिलेसम्म पनि राज्यबाट उपेक्षित भइरहेका सन्थाल समुदायका परिवारले दोस्रो दर्जाको नागरिकको अवस्थाबाट मुक्त नभइ समाजवादको अनुभूति नहुने भन्दै काँग्रेसका पूर्व महामन्त्री सिटौलाले निर्वाचनपछि बन्ने सरकारले सन्थालका सबै पीडा र समस्या हल गरेरै छाड्ने दावी गरे । नेता सिटौलाले सन्थालको हकहित र नागरिकताजस्ता विषय सम्बोधन गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

बाह्रदशी गाउँपालिकाअन्तर्गत राजगढ बजारमा सन्थाल समुदायले आयोजना गरेको जेष्ठ सन्थाल आमाबुबा सम्मान तथा सन्थाल सांस्कृतिक कार्यक्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्न आह्वान गरेका थिए ।
नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पार्दै लोकतन्त्रको रक्षा र गणतन्त्रको सस्थागत विकासमा सन्थाल समुदायले खेलेको भूमिकाको राष्ट्रले सम्मान गर्ने समेत बताए ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेद्बार पूर्णसिंह राजवंशी, संविधान सभा सदस्य मोहन टुडू , सन्थाल समुदायका अग्रज बडाराम हेमरमलगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा सन्थालको अस्तित्व रक्षा हुनु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्