झापा , कात्तिक २७ । सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना दाजु–भाइ हुन् ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इटा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो ।

इटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिर्चैयाका प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले जानकारी दिए । घटनाबारे प्रहरीले साँझ ६ बजे मात्र खबर पाएको थियो । तीनै जना बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्