झापा , कात्तिक २८ । हल्दिवारीको गोलधाप मूल घर भएका झापा क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफूलाई सैनिकमोड–गोलधाप सडक हिड्न लाज लागेको बताएका छन् ।

सैनिकमोड– गोलधाप सडकबाट आफूले हिड्न छोडेको बताउने लिङ्देनले बिर्तामोडतिरबाट गोलधापको आफ्नो घरमा कोही आउन खोज्दा चारपाने दक्षिणको बाटो भएर आउन भन्ने गरेको सुनाए । चुनावी घरदैलोका क्रममा बिर्तामोड १० स्थित मनकामना काली मन्दिरमा आयोजित कोणसभामा बोल्दै लिङ्देनले सो बाटो नबन्नुमा नेपाली कांग्रेस दोषी रहेको आरोप लगाए ।

आफू सांसद हुँदा त्यस बाटोका लागि काम गर्न नदिएको उनको भनाई छ । ‘२०७७ मा बजेट ल्याउन खोज्दा वल्र्ड बैंकले बाटो बनाउँछ भनेर काम गर्न दिएनन् ’ उनले भने,‘२०७८ मा पनि मैले केही बजेट पार्न खोजेको थिएँ ।’ सबै निर्वाचन क्षेत्रमा एक–एकवटा सडक निर्माण गर्ने योजनाअनुसार सो सडकमा बजेट परेको बताउँदै उनले जश लिन खोज्ने कांग्रेसलाई चिठ्ठा मात्र परेको दावी गरे । उनले सो बाटोको लागि डिपिआर बनेपनि डिपिआर अनुसार काम गर्न नदिई बिर्तामोड १० का वडाध्यक्षले आफ्नो घरसम्म तन्काएको दावी गरे ।

सो सडक गत फागुन १८ गते खनाल शान्ति जेभीले ठेक्का लिएको थियो । सैनिकमोडदेखि साढे ४ किलोमिटर दक्षिणसम्म असार मसान्तसम्म कालोपत्रे पूरा गर्न सो कम्पनीले भ्याटसहित ५ करोड २४ लाख ४१ हजारमा ठेक्का लिएको थियो । तर , असारभित्र काम सकिएन । रि–इस्टीमेट गरेर केही दिनअघिदेखि बाटो निर्माण कार्य थालिएको ठेकेदार कम्पनीका अनिल भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्