झापा , कात्तिक २८ । सामाजिक संजाल टिकटक लाइभमा खुलेआम जुवा खेल हुन थालेको पाइएको छ ।

पछिल्लो समय टिकटक युजरहरुले ‘लाइभ’मा बसेर जुवा खेल्न थालेका हुन् । पैसा हारजित हुनेगरी जुवा खेल्नु अवैध मानिएपनि प्रविधिलाई दुरुपयोग गर्दै टिकटकमा हुने जुवा नियन्त्रणमा प्रहरीले चासो देखाएको छैन । टिकटक युजरमध्ये एकजनाले जुवा खेलाउँछन्, लाइभमा आउने अरु खेलाडीहरु खेलमा सहभागी हुन्छन् । त्यस्तोमा हारजितको पैसा मोवाइल बैंकिङ वा कार्डमार्फत लेनदेन हुने गरेको जानकारहरु बताउँछन् । टिकटकमा जुवा खेलाउने मध्येका एकजना हुन्, श्याम खतिवडा । लाइभमा जुवा खेलाउँदै उनी भन्छन् -‘बाजेले जित्नुभो पैसा हाल्दिनुहोला ।’ अर्का टिकटक युजर रमेश बुढाथोकीले टिकटकमा तास खेल्न आग्रह गर्दै भनेका छन्, ‘तपाईहरु लाइभमा तास खेल्न चाहनुहुन्छ, क्वाइन लोड गरेर आइहाल्नुस्, म लाइभमा छु ।’टिकटबाट भइरहेको जुवाबारे जानकारी नभएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए । उनले भने, ‘मलाई जानकारी भएन, युजर लिंक पठाइदिनुस् कसरी जुवा हुँदोरहेछ हेरौंला ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्